(लघुआत्मालाप) जीवनकाे दियाे
(लघुआत्मालाप
जीवनकाे दियाे
सरण राई
कहिल्यै नपाएकाे आनन्द पाउँदा जीवन सप्तरङ्गी लाग्दाेरहेछ । बलवैंश हुँदा आनन्द थपिँदै जाँदाे रहेछ । साथीभाइबहिनी थपिन्छन् । जीवन साथी, सन्तान, इष्टमित्र,धनसम्पत्ति, वैभव आदि सकारात्मक कुराहरू थपिँदै जाँदा -- आनन्दै आनन्द । सार्थकता अनुभूत; सुख सधैं रहिरहन्छ भन्ने लाग्न थाल्दाे रहेछ ।
अकस्मात अनाैठाे माेड ! बलवैंशले छाेड्न थालेपछि अघि जुटेका सब छुट्न थाल्दा रहेछन्-- साथीभाईबहिनी, इष्टमित्र,धनसम्पत्ति आदि । जीवन साथीले पनि छाेडेपछि जीवन नाैरङ्गी बन्दाे रहेछ !
आश्चर्य !
आश्चर्य लाग्न थाल्छ-- मसित पनि सबथाेक थियाे ?! अहिले मसित केही छैन । अकस्मात सम्झन पुगिन्छ -- "संसारकै सबैभन्दा अमूल्य चाेला" मसित छ । खडेरीमा झरझर वर्षा भएझैँ हुन्छ । एक्लै ; एक्लै भएपनि फेरि जीवनकाे बिट (फिनिसिङ टच) दिने जाँगर पलाउँदाे रहेछ ।
याे नै नाैरङमध्येकाे अनाैठाे जिजीविषाकाे नवाै रङ रहेछ ।
अँध्याराेमा पनि बाटाे देखाउने जीवनकाे दियाे रहेछ !
याे दियाे
अवसान नजिक पुग्न लागेकाहरूका अन्तिम सहारा रह्रेछ र रहेछ ... ?!

Comments
Post a Comment