(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु
(लघुसंस्मरण)
जन्म गाउँ-- छिनामखु
१. स्कुले केटाकेटी जीवन
७५वर्ष अगाडिकाे त्याे समय आजभाेलिकाे जस्ताे थिएन नै । यातायात, सञ्चार, शिक्षा, बिजुली र स्वास्थ आदि सुबिधाकाे अभाव भएका सबै पहाडी क्षेत्र दुर्गम र विश्वबाट एक्लिएकाे थियाे । रेडियाे पनि नभएकाे त्याे बेला माेबाइल, टेलिभिजन , टेलिफाेन र इन्टरनेटकाे नाम पनि सुनिएकाे थिएन ।
गाउँ सुनसान भए पनि प्रकृतिकाे काखमा रहेकाेले स्वास्थप्रद थियाे । केही धनिमानी मानिसहरू बाहेक सबैकाे खुट्टामा जुत्ता हुँदैनथ्याे । खाली खुट्टा हुन्थे , हरिनाथले कुर्कुच्चा चिरिएकाे हुन्थ्याे । जुत्ता लगाउनेहरूले पनि स्थानीय सार्कीले बनाएका करूवा काँटी ठाेकिएकाे कडा जुत्ता लगाउथे । त्यस्ताे जुत्तालाई नरम बजाउन बाेसाे दलिरहन पर्थ्याे । केटाकेटीहरूले त झन् जुत्ता जुत्ता लगाउने कुरै थिएन ।
२००७सालपछि खुलेकाे गाउँकाे स्कुलमा पढ्ने हामी सबै खाली खुट्टा । त्यतिबेला मुलुकका ९५% मानिसहरू खाली खुट्टामा हुन्थे । त्यसले उखान बनेकाे थियाे -- "जुत्ता लगाएकाे गाेडा र बाबै भनेकाे छाेरा काम लाग्दैन ।" सहर बजारका धनी मानिसहरू ,जागिरेहरू र मुखिया र राजा महाराजाहरूले मात्र जुत्ता लगाउथे ।
स्कुलका हामी सबैकाे शरीरभरि मयलै मयल । दाैराकाे फेरले सिँगान पुच्ने हुनाले सिँगानले कट्कटिएकाे दाैराकाे फेर । जाङे पनि त्यस्तै । सफासुग्घर बस्नुपर्छ भन्ने चेत थिएन । स्कुलमा डेस्कबेन्ज थिएन । पिरा वा गुन्द्रीमा बसेर पढ्नु पर्थ्याे । धरबाटै पाटि र खरी पनि लानु पर्थ्याे । याे समय २००९/१०तिरकाे हाे ।
त्यतिबेलाका स्कुलका समकालीन साथीहरू गणेश रसिक, कुलबहादुर राई, टिकाराम राई, खम्बप्रसाद राई, गणेशबहादुर गुरुङ,कृष्णकुमार राई, इन्द्रबहादुर थापा र फुफू नरदेवी राई आदि थिए । हामीभन्दा अलिक ठूला महेन्द्र बान्तावा, प्रेम बान्तावा,यशाेदा राई, फुफू कमला राई, ध्रुवदेव राई, जनकबहादुर राई , भगत राई, पृथवीविक्रम राई, वीरबहादुर राई, हरिकुमार राई,चरण बहादुर राई,हिरादेवी राई, चन्द्रकला राई, रामसुन्दर राई, भद्रमान राईआदि थिए । गाउँमा स्कुल खुलेकाेले गाउँका धेरै मेरा समकालीन साथीहरू पढेलेखेका भए र (निकैजना दिवङ्गत भईसकेका भए पनि ) अहिले पनि विभिन्न क्षेत्रमा वरिष्ठ भएर रहेका छन् ।
केश काेर्न जानेका थिएनाैँ, अलिक नक्कलेहरूले जुल्फि पाल्थे । मैले पनि कक्षा आठमा भाेजपुर बजार गए पछि मात्र फुफू नरदेवीले केश काेर्न सिकाउनु भएपछि मात्र केश काेर्न जानेकाे थिएँ । दार्जिलिङकन तीन जना मास्टरहरू प्रसाद साेताङ, मणिकुमार दिम्माली राई र वेदी कुमार वाङदेल राई शिक्षक नियुक्त भएपछि स्कुल नियमित रूपमा सुचारु भएकाे थियाे । सि. पी .सर (चन्द्र प्रसाद राई) पनि अत्यन्त संयमित र सरल मिजासका सर हुनुहुन्थ्याे । उहाँहरूले नै छिनामखूमा शिक्षाकाे पहिलाे ज्याेति छर्नु भएकाे थियाे ।
त्यति बेला मानिसहरूलाई स्वास्थसम्बन्धी सामान्यभन्दा सामान्य ज्ञान पनि थिएन । श्वास मुखबाट फेर्नुपर्छ भन्ने थियाे ।ती सरहरूले श्वास नाकबाट फेर्नु स्वास्थप्रद हुन्छ भनेर सिकाए । हात खुट्टाभरि मयल जमेर कात्रैकात्रा परेकाले शुक्रबार हाफ छुट्टिपछि करीब १घण्टामा पुगिने याङटाङ खाेलामा स्कुले केटाकेटीहरूलाई लगेर ढुङ्गाले घाेटिघाेटि मयल माडेर सफासुग्घर बस्न सिकाए । याे स्वास्थ क्षेत्रकाे अविसमरणिय याेगदान थियाे ।
क्रमश:
२०७९/६/८,धरान
काका पुर्ण बहादुर

Comments
Post a Comment