(स्मृतिलेख) स्वरसम्राट नारायणगोपालप्रति शब्दश्रद्धासुमन

 

(स्मृतिलेख)
स्वरसम्राट नारायणगोपालप्रति शब्दश्रद्धासुमन
 
सरण राई
 
नारायणगोपालसँग २०४२सालमा महेन्द्र क्याम्पस, धरानमा उपपकुलपति महेश उपाध्यायसँग आउँदा एक पटक मात्र देखादेख भएको थियो । त्यति बेला राजा रानी बर्षैपिच्छे जाडो महिनामा पाँचवटा विकास केन्दहरू्रको सदरमुकाममा टुर मुकाम बनाएर एक एक महिना बस्ने गर्थे । धनकुटामा राजारानीलाई भेटेर फर्किदा उनीहरू धरानको क्याम्पसमा पनि निस्केका थिए । सबैको ध्यान उपकुलपतितिर केन्द्रित थियो । एक छेउमा बसेका नारायणगोपाललाई मैले पनि झलक्क हेरेको थिएँ । टिलिक्क टल्केको पावरवाला चस्माभित्र चम्केको आँखाहरू !
अहिलेजस्तो जहितही टेलिभिजन थिएन । नारायण गोपालको गीत सुनेको तर मान्छे नदेखेको । चिनेको थिएन । उनीहरू गईसकेपछि पो एकजना साथीलाई सोध्दा ती एक्लै नबोली बसेका नारायण गोपाल हुन् भनेपछि पो पहिला थाहा पाएको भए राम्ररी नियालिनियाली हेर्ने थिएँ भन्ने लागेको थियो । पछि टेलिभिजन सबैतिर व्यप्त हुनथालेपछि भने नारायणगोपाललाई टिभिमा चित्त बुझुन्जेल हेरियो ।
नारायणगोपालको “स्वर्गको रानी मायाको खानी’’ गीत आठ कक्षामा पढ्दा (२०१८साल) गणेश रसिकको मुखबाट धेरै पटक सुनेर मलाई पनि कण्ठै भएको थियो । “एउटा मान्छेको मायाले कति”जस्ता कालजयी गीतहरूसम्मको उनको गायन यात्रामा उनको गायनमा पनि तात्विक उन्नयन भएर गायनको शिखर चुमेकैले उनलाई स्वरसम्राट भनिएको हो । जो कोही त्यस्तो शिखरमा पुग्न सक्तैनन् ।
नारायणगोपालको देहावसान हुँदा म पनि पत्नीको उपचारकोक्रममा काठमाडौंको वीर अस्पतालमा थिएँ । उनलाई उनकै गीत बजाएर, नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा उनको शव राखेर भव्य श्रध्दाञ्जली प्रदान गरेर यथोचित सम्मान गरिएको थियो । जुन गौरवपूर्ण थियो । उनी स्वभिमानी भएर आत्मसम्मानसाथ बाँचे । उनले चाहेको भए उनी हिन्दी सिनेमाका पैसावाल लोकप्रिय गायक हुन सक्थे । उनले कहिल्यै स्तुति गीत गाएनन् । मनले नमानेको छाडा गीत पनि गाएनन् । उनको राष्ट्रप्रेम र स्वभिमानी चरित्रले आजपर्यन्त लाखौँ युवाहरूलाई प्रेरित गरिरहेको छ । जीवनमा राष्ट्रियता, स्वभिमान र निश्चित गरिमामय आदर्श नभए जीवन अर्थहीन हुन्छ भन्ने पाठ नारायणगोपालको जीवनबाट सिक्न सकिन्छ ।
💕
२०८०। ३। ६, धरान
ज्ञानगुण- अङ्क२१५,सं शेषराज शिवाकोटी, नारायणगाेपाल स्मृति विशेषाङ्कमा प्रकाशित

Comments

Popular posts from this blog

(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु

(लघुलेख ) आख्यान