(लेख) म पनि जेष्ठ नागरिक भएछु

(लेख)

 म पनि जेष्ठ नागरिक भएछु

सरण राई

म यहाँ यसरी हराएँ
जसरी जङ्गलमा एउटा पात
जसरी मरुभूमिमा एउटा कण
जसरी अन्तराल समयमा एउटा क्षण
(६०को उमेर पुग्न लाग्दा वा पुगिसकेपछि यस्तो लाग्छ नै !)
मलाई जगतबहादुर के.सी. सरले जेष्ठ नागरिकका बारेमा लेख्न भन्नुभएपछि आफैले लेखेको उपरोक्त कविताअंश सम्झना हुन्छ । हो पनि, समयको लामो अन्तराल बितेर गएको मलाई पत्तै भएन, म पनि जेष्ठ नागरिक भईसकेको रहेछु । मलाई पनि लाग्न थालेको छ म एउटा पात जङ्गलमा, एउटा कण मरुभूमिमा र एउटा क्षण अन्तराल समयमा हराएझैँ हराएको जेष्ठ नागरिक भएछु ।
जेष्ठ नागरिक ! अरुभन्दा के कति फरक हुन्छ ? म केलाउन थाल्छु ...
मान्छेको जीवनमा उमेर अथवा समय बलवान हुन्छ । उमेर अनुसारको जीवन पद्धत्ति, प्रक्रिया, व्यवहार, सोच र आचरण हुने गर्छ । बाल्यकाल, युवाकाल र प्रौढावस्थामा जीवन पद्धत्ति प्रक्रिया, व्यवहार, सोच र आचरण  फरक फरक हुने नै भयो ।
‘पत्तै नपाई उमेर, समय वा जीवन बित्यो’ बुढेसकालमा पुगेपछि सोच्न पुगिदो रहेछ । बाल्यकालमा उमेर र समय थाहै नपाई बित्छ । केटाकेटी अवस्थामा पनि खेल, पढाइ, सानासाना काम र नौलो सिकाइका क्रममा थाहै नपाई समय र उमेर बित्छ । युवाकाल जीवनको स्वर्णिम काल हो जून अवधिमा आफूले चाहेको  जीवन साथी, साथीभाइबहिनी, साथ, सङ्गत र सफलता पाउन सकिन्छ । जीवन सप्तरङ्गी रमाइलो रङ्गीन हुन्छ । हाँकेको ताकेको पु¥याउन सकिन्छ । बल वैंश जोशजाँगर सबथोक हुन्छ । तापनि सांसारिक रमझममा रमाईरहदा युवाकाल पनि मिलिक्कै थाहा नपाई तुरिएको नमीठो अनुभूति प्रौढावस्थामा पुगेपछि गर्न पुगिदो रहेछ । पौढावस्थामा चाहीँ  समयको एक एक पल अमूल्य लाग्ने भएकोले समय बितेको थाहा हुँदो रहेछ र बितिरहेको समय त्यसै खेर नजाओस् भनेर समय सदुपयोग कसरी गर्न सकिन्छ ? मानिस चिन्तित हुँदो रहेछ ।  धरतीमा बस्ने समयावधि छोटिदै छ भन्ने मानसिकताले मनको अन्तरतहमा नमीठो वह दिन थाल्दा  प्रौढहरू विविध व्यसन, सेवा, परोपकार र रचना गर्नेजस्ता विविध कार्यहरूमा सरिक हुन थाल्दा रहेछन् ।
जेष्ठ नागरिक देश र समाजको अनुभव हो, अमूल्य गहना पनि हो । जहाँ जेष्ठ नागरिकको सम्मान हुन्छ समाज समुन्नत, सभ्य र रमणीय हुन्छ । पहिलाको अथवा हाम्रो पिँढीभन्दा अगाडि आफूभन्दा जेठा पाकोेलाई आदर गर्ने र बाजे, बज्यु, दिदी, दाजु काका, काकी, फुफू आदी साइनोले बोलाउने चलन थियो । आफूभन्दा ठूलालाई ढोगभेट गर्ने  र सानालाई आशिवाद दिँदै ढोगभेट स्वीकार्ने परम्परा, संस्कार, चलन थियो । पाको उमेरकालाई सम्मान गर्ने, साइनो केलाएर  साइनोले सम्बोधन गर्ने चलन पनि हराउदै गएको छ । वर्तमान— आधुनिक भनाउदो कलुषित उपभोक्तावादि संस्कृतिको विकृत आत्मकेन्द्रित मपाईँवादभित्र सिमीत बन्न थालेको छ । आपूm वरिपरीकाहरू भोकै रहे पनि आफू अघाए भयो ।  अरु बिग्रे पनि आफू सप्रे भयो । अझ अरुलाई बिगारेर भएपनि आफू सप्रिने परिपाटिमा पाको अनुभवी को ? किन सम्मान गर्नुपर्ने ? सोधीखोजी हुन छाडेको परिवेशमा जेष्ठ नागरिकहरू अपहेलित परित्यक्त हुन थालेका छन् । आजभन्दा अगाडिको पुस्तामा वृद्ध आमाबुबालाई पालनपोषण हेरचाह गर्नु कर्तव्य ठानिन्थ्यो, नगरेमा कुपुत्र भन्ने अपगाल बेहोर्नु पथ्र्यो । अब त्यो दायित्व  वृद्धहरूलाई वृद्धाश्रममा पु¥याउन पाए पूरा गर्न नपर्ने भन्ने नयाँ सोचको विकास हुन थालेको छ ।
एउटा रुसी लोककथामा एउटा क्रुर राजाले  ६० पुगेकाहरू सबैलाई मार्ने आदेश दियो । सबै वृद्धहरू मारिए । एकजना युवकले भने वृद्ध पितालाई मान्द्रोमा बेरेर बुइगलमा लुकाएर राख्यो । केही वर्ष पछाडि त्यो देशमा  भयङ्कर अनिकालका कारण सबै अन्न खाएर सकियो ।  बालि लाउने बेलामा अन्नको बीउ छैन । अन्नको बीउ खोज्न सक्नेलाई पुरुस्कारको घोषणा भयो । तर कसैले बीउ खोज्न सकेनन् । त्यस समयमा मान्द्रोमा लुकाएर राखेको पिताले छोरालाई भने— “पोहोर खेतबाट अन्न ओसारेको बाटोमा खनजोत गरे त्यहाँ बीउ उम्रिन्छ ।” त्यसै गरियो, नभन्दै बीउ उम्रियो र मानिसहरूले फेरि खेतीपाती गरेर ज्यान बचाए । यस कथाको शिक्षा वृद्धहरू नभए बुद्धिको अनिकाल हुन्छ । बुद्धिको अनिकालमा बुद्धिको बीउ जोगाउन सक्ने जेष्ठ नागरिकहरू नै हुन्छन् ।
समय बितिरहन्छ, थामेर राख्न सकिदैन । आफ्नो रफ्तारमा निरन्तर बगिरहने समयले मानिसको जन्म, जवानी र जेष्ठ नागरिक काल र मृत्यु ल्याउँछ । मृत्यु अर्थात जीवनको अवसान नजिक भएको अनुभूतिले मानिसमा वैराग्य उत्पन्न गराउँदा मानिस आफ्नो अस्तित्व र आफूले ओगटेको टेकेको धरतीमा आफ्नो पाइलाको डोब छोड्न चाहन्छ । सम्पन्नहरू अनेक दानदक्षिणा, चन्दा, पुरस्कार आदि दिएर सन्तोष प्राप्त गर्न चाहन्छन् । सबै जेष्ठ नागरिकहरूसित केही न केही वा कुनै न कुनै प्रकारको ज्ञान, सिप, कला, दक्षता वा विशेषता हुन्छ नै, त्यही प्रयोग गरेर समाजमा केही न केही रचना गर्ने वा केही अविस्मरणीय गरेर देखाउने चाहनाले सक्रिय रहन्छन् जुन बुढेसकालमा दिन काट्ने मेलोमेसो हुन्छ । बाँच्ने प्रयोजन र ध्येय बन्छ साथै काल पर्खने मानसिक शक्ति पनि त्यस्तो चाहनाबाट जेष्ठ नागरिकहरूलाई प्राप्त हुने रहेछ । जबसम्म मानिस नयाँ कुरा सिक्न चाहन्छ र केही न केही गरिरहन्छ ऊ बुढो हुँदैन भनेको साँचो रहेछ ।
म त्यस्ता केही जेष्ठ नागरिकहरूलाई सम्झिरहेको छु ।  १३ वर्षकै उमेरमा आफ्नो गाउँ छोडेर पढ्न भनेर धरान झरेको म लामो भ्याकेसनको बिदा हुँदा चतरा त्रिवेणी हुँदै चार दिन हिँडेर गाउँ जान्थे ।  त्रिवेणीमा तमोर तरेपछि मलाई बोलाएर एक वृद्ध बोजुले कपिको एउटा पन्नाभरि रातो र नीलो डटपेनले कोरीएका राता नीला बाङ्गाटिङ्गा धर्काहरूका (चित्र होइन) संयोजन हेर्दा धर्काहरूमा केही चित्र नदेखिने तर  कलात्मक हो कि जस्तो लाग्ने दिनुभएको थियो । उहाँ यस्ता धर्काहरू पन्नाभरि दिनभरि कोरेर बटुवाहरूलाई बाडि दिनु हुन्थ्यो । किन बाँडिरहनु भएको छ ? मानिसहरूले ती धर्काहरूका संयोजन हेरेर केही नबुझे पनि  त्यसै दिईएकोले लिन्थे र लैजान्थे । यसरी बाड्दा ती बोजु भने खुसी देखिन्थिन् । त्यतिबेला त मैले पनि केही बुझेको थिइनँ तर अहिले म (जब जेष्ठ नागरिक भएँ)  बुझ्दै छु— त्यो रातो नीलो धर्काहरूले भरिएका पन्ना ती बोजुको आपूm विलिन हुनुभन्दा अगाडि अन्तरमनभित्र रहेका भावुक सिर्जनाहरूका प्रकटिकरणका प्रयत्न थिए र त्यो प्रयत्नमा सुखको अनुभूति पाउँने उनको लालसा थियो ।
मेरा पिता पनि जेष्ठ नागरिक कालमा सदैव जस्तो मानिसहरूले घेरिएर चिया पसल, हाटबजार, छलफल, मिटिङ, सभासमारोहमा हुनुहुन्थ्यो । छरछिमेकका मान्छेहरूले उहाँलाई जान्नेबुझ्ने निष्पक्ष बौद्धिक मान्छेको रूपमा लिन्थे र सल्लाह सुझाव लिने र गाउँटोलमा नै मिलाउन सकिने सानोतिनो झैझगडाका न्यायकर्ता स्वीकार्थे । मान्छे बुढेसकालमा झन् धेरै समाजमा प्रतिस्थित भएर रहन बस्न चाहदो रहेछ । हो पनि, प्रतिस्ठाले प्रौढावस्थामा सन्तोषसित बाँच्न उर्जा दिँदो रहेछ । अहिले मसँग मेरी ९५वर्षिय आमा हुनुहुन्छ । उहाँलाई भेट्न नरनाता इष्टमित्रहरू आईरहन्छन् । उहाँ कान सुन्नुहुन्न तापनि भेट्न आउनेहरूसँग बात मार्नुहुन्छ र केही न केही सोधेर  कुराको सिलसिला टुट्न दिनुहुन्न । मानिसहरू भेट्न आउँदा उहाँ खुसी हुनुहुन्छ । एक्लोपन हटाउन कुखुरा पाल्नु भएको छ, चारो दिने, पोथीलाई ओथ्रा बस्ने, चल्ला हुर्काउन हेरचाह आदि गर्नेगर्दा समय पनि काट्न सजिलो भएको छ । केही न केही वृद्धहरूले गर्न चाहेमा उनीहरूलाई नगर्नुहोस् भन्नु हुँदैन । गर्न दिनुपर्छ  यसरी केही  गरिरहदा आपूm अरूमाथि बोझ नभएको महसुस हुन्छ । प्रसन्नता महसुस हुन्छ । आमाले पाल्नुभएको कुखुराहरू नै ‘मङ्सिरे’मा काम लागिरहेको छ, बजारमा कुखुरा किन्न जानु परेको छैन ।
मान्छेको मन ठूलो रहेछ । मनले नमानेको काम कुरा  मान्छेले गर्न चाहदैन । झन् बुढेसकालमा मनले नमानेको काम गरिदैन नै भरसक र बुढेसकालमा मन परेको काम कुरा गर्दा पाइने अपूर्व सुख, आनन्द र सन्तुष्टिको सिमै हुँदैन । अब म पनि ७४वर्षको जेष्ठ नागरिक भएको छु । मैले अनुभूत गरेका जेष्ठ नागरिकका अनुभूति र मनस्थिति मैले  मेरा साहित्यिक रचनाहरूमा व्यक्त गरेको छु । पत्नी र म जब ५० वर्षका भयौँ — बुढेसकाल कसरी दुःख नपाई काट्न सकिएला ? भनेर चिन्तित हुन थाल्दा ‘मानव संसार’ उपन्यास जन्मियो । वृद्धको अवस्थामा आधारित ‘नाति’ कथा लेखियो । त्यो कथा लेखिसक्नासाथ  पत्नीलाई त्यो कथा सुनाउदा ‘आँसु आउने खालको छ !’ भन्ने तिनको प्रतिक्रिया थियो । ‘आमाको मन’ लगायत मेरा धेरै रचनाहरू ६०को उमेर काटिसकेपछि लेखेको हुँनाले ती रचनाहरू वृद्धहरूकै मानसिक शारिरीक अवस्थामा आधारित भएका छन् । बुढेसकालको बारेमा चिन्ता गर्ने पत्नी ६६ वर्षकै उमेरमा बितिन् र तिनले बुढेसकाल बेहोर्न नै परेन । मैले भने तिनको देहावसानले पु¥याएको चोट, विछोडको पीडा सहेँ, त्यही असहनीय पीडा पोख्न मैले ‘नौरङ्गी’ लघुकथा सङ्ग्रह र ‘फुली’ कथा लेखेँ । यी कथाहरू वास्तवमा मैले आँसुले नै रुँदै लेखेको थिएँ । मलाई वियोगान्त पीडा हुँदा सप्तरङ्गी संसारमा रमाइरहेको म अचानक नौरङ्गी जीवनमा पछारिन पुगेँ । जीवनका तीता नमीठा सबै अनुभव गर्न पुगेँ । ‘तरुनीको पोइ नमरोस्, बुढाको जोइ नमरोस्’ उखानको अर्थ पत्नीको देहान्तपछि नौरङ्गी जीवनमा बुझ्न सकेँ । नौरङ्गी जीवनबारे स्पष्ट पार्न नौरङ्गी बाट निम्न उद्धरण प्रस्तुत गर्दै छु ः—
मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियामा भुलिदो रैछ । सप्तरङ्ग त इन्द्रेनीका रङ्गहरू हुन् । अरू दुई रङ्ग ? नौरङ्गी डाँफे । डाँफेका रङ्गहरू हुन् भनि दिँदा हुन्छ । तर ति के कस्ता हुन्छन ?
सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । रोइरहेको आँखाले देखिने रङ्ग आठौं हो । नवौ रङ्ग अनेकौं दुःख दर्द कष्ट रिक्तता अभाव पीडा आघात सन्ताप यातना विछोड बियोगका असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यो जिजीविसाको अद्भुत रहस्यमयी अदृश्य रङ्ग नवौं हो ।
यसरी जीवन नौरङ्गी हुन्छ ।
(नौरङ्गी एक सय एक लघुकथा सङ्ग्रहबाट)
 नौरङ्गी जीवनमा सबथोक सब सब नौरङ्गी हुँदा रहेछन् ! एकल जीवनमा मानिसका सबै नौरङ्गी हुन्छन् भन्ने अनुभूति अहिले मलाई भईरहेको छ । यो सांसारिक जीवनमा कैयौं कुराहरू यस्ता छन् जो आफैले नभोगि थाहा पाउन सकिदैन । मैले पनि आफैले भोगेपछि मात्रै कैयौं कुराहरू थाहा पाएँ, चाल पाएँ तर यी कुराहरू म स्पष्टसित बताउन सक्तिनँ । यो सामथ्र्य शब्दहरूमा छैन अनि रहेनछ पनि । यो ७० काटेको एकल जीवनमा अनेकओलीका दुःखद सोच र मृत्युको डरलाग्दो भयले पिरोल्दा आफ्नै मन बुझाउन लेखेको निम्न कविता  ७० काटेका जेष्ठ नागरिकहरूकै लागि सान्त्वानास्वरूप प्रस्तुत गरेको छु ...  
डाँडाको घाम
(७० काटेकाहरूको कविता)

कोहि सधैं यहाँ बसिरहेको थाहा छैन
गइसकेपछी गएको फर्केको थाहा छैन
जानेहरूले छाडेको सम्बृद्धि ढकमक्क छ
त्यसमा सुनौलो सुगन्ध थप्ने तिम्रो दायित्व छ !

डाँडाको घाम तिमी अझै उज्यालो छर
७० काटेको जीवन तिम्रो कहाँ छ र
सृष्टिका अनेक अनेक रङ क्यानभासमा छर
रुँदै हैन हँसाउदै हाँस्दै बिदा लिने तिमी छौ वीर !
(बाटाभरि ओइलिरहने पूmल कविता सङ्ग्रहबाट)
आपूmभन्दा जेठो पाकोलाई सम्मान गर्ने र उनीहरूसित ज्ञान बुद्धि सिक्ने, अर्ति लिने र आपूmभन्दा सानालाई मायाप्यार गरेर रामैो बाटोमा हिँडाउने हाम्रो अत्यन्त राम्रो चलन, संस्कार र परम्परालाई अझै हामीले जीवन्त राख्नु पर्छ । यो हाम्रो मौलिक संस्कार हो र यसले हामीलाई समाजमा सद्भाव कायम राख्न सदाकाल मद्दत गरिरहने हुन्छ । युवाहरूले अहिले गर्ने जेष्ठ नागरिकप्रतिको सम्मान प्रेम उनीहरू आफ्ना लागि पनि हो किनकि उनीहरू पनि एकदिन जैष्ठ नागरिक हुने नै छन् । उनीहरूले अहिले रोपेको मायाप्रेम सम्मान सद्भावको बिरुवाको फल जेष्ठ भईसकेपछि उनीहरूले खान पाउने छन् नै । तसर्थ अहिले  जेष्ट नागरिकहरूलाई माया सम्मान गर्ने भर्खरका युवा, बिद्यार्थी र जेष्ठ भई नसकेका सबैलाई प्यार शुभआशिष !
अन्तमा अनेक पीर वेदना रोग शोक दुःखकष्ट सहेर अहिले बाँचिरहेका वा बाँच्ने प्रयत्नमा रहेका सबै जेष्ठ नागरिकहरूलाई हादिक न्यानो सलाम !

**

२०७८–१०–२७, धरान


Comments

Popular posts from this blog

(स्मृतिलेख) स्वरसम्राट नारायणगोपालप्रति शब्दश्रद्धासुमन

(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु

(लघुलेख ) आख्यान