(लघुसंस्मरण) ७३ देखि ७४

 

(लघुसंस्मरण)
७३ देखि ७४
 
सरण राई
 
आम मान्छे सर्वसाधारण भएर बाँचेँ अथवा सर्वसाधारण नै भएर बाँच्नु मेराे बाध्यता थियाे, र, छ । अरुले नरुचाएकाे, हुनेखाने साेर्सवालाले छाेडेकाे जागिर मैले खाएकाे सम्झना आउँछ ।
पढाइ पनि गाउँकै स्कुलबाट थालियाे । एस. एल. सी . पनि पास गरियाे । आई एस्सी. पढ्ने सल्लाह गरेकाे साथी शुक्रराजलाई पर्खदा पर्खदा नाम लेख्ने समय नै सकियाे । पछि पाे थाहा भाे-- रतन्छाबाट बिराटनगर पढ्न आउने भनेर अघिल्लाे दिन दिनभर खाेलामा माछा मारेछन् तर बेलुकि राति नै बितेछन् । म भने पर्खेकाे पर्खेकै । हाम्राे डाक्टर बन्ने सपना खत्तम !
एक वर्ष डुकुलन्ठक भएर धरानमा कहिले लाेक नृत्य संघमा , कहिले बेराेजगार कवि बेणु आचार्य, गाेविन्द विकल, बालमुकुन्द श्रेष्ठ आदिसँग हल्लिरहेकाे मलाई बुबाले बाेराबाँध लगेर आफ्नै चिया दाेकानमा चिया फिट्ने, गिलास धुने काम दिनुभाे । त्यति बेला स्थानीय जातकाे माछा खाेलाभरि यहाँसम्म कि पैनी, कुलाे र खेतमा पनि फालाफाल ! बर्खामा खेतकै आलिमा थापेकाे ढाेडियामै परेकाे माछा जत्ति खा । म पहाडमा सानाे हुँदा सिध्रा देख्दा माछालाई ठूलाे ढुङ्गाले थिचेर चेप्टाे पारेका हाेला , साेच्थे । मधेस आएपछि देखियाे त्यस सिध्रा बनाउने माछालाई पाेथी भन्दा रहेछन् । आ उहिलेकाे कुरा ! खुइले !!
एक वर्ष खेर फालेकाेले अर्काे साल आईएस्सी नभई आई. ए. पढियाे । एम.ए.पनि २३वर्षकै उमेरमा पास गरियाे ।
बाटाे न घाटाे दगुर्छ लाटाे उखानझैँ आफैआफ्नाे जीवन गाेरेटाे काेर्नु पर्ने । सुनेँ सेडा CEDAA मा आदिवासीलाई जागिर दिने काेटा छ रे । निवेदन दिएँ, अस्थाइ अनुसन्धान सहायक भएँ। डेढ वर्ष पछि छाेडेँ। के गराै? घरै फर्काै कि भनिरहेकाे बेला सहायक डिन डा पार्थिवेश्वर तिमील्सिना (जसले एम
.ए .मा पढाएका पनि थिए)ले नयाँ शिक्षा लागेकाे बेला साेर्सवालाले नखाने फालाफाल सहायक प्राध्यापककाे जागिर बाेलाएर दिए । एक वर्ष मात्र खान्छु भनेर पसेकाे त्रिचुवन विश्वबिध्दालयमा ३८ वर्ष बिताईयाे ।
आज सम्झदा आम मान्छे सर्वसाधारण भएर बाँचे अन्तर हृदयकाे पुकार अनुसार । कहिल्यै मनले नमानेकाे काम गरीनँ । पञ्चायत कालमा पञ्चायतकाे समर्थनमा मन्त्रीसँग भाषण गर्न जाने प्राध्यापक म कहिल्यै भइनँ , त्यसरी जानेहरूकै बाेलवाला छ आज गणतन्त्र आएपछि पनि ।
मेराे बितेकाे जीवन र समयसँग कुनै गुनासाे छैन । कारण ७३देखि ७४ लाग्दै छु राति त्यस्ताे दुखद केही भएन भने । कतिपय मेरा दाैतेरहरूले पचास पनि देख्न पाएनन् ।मेराे आफ्नै श्रीमतिले पनि ६६ पूरा गर्न पाईनन् । ७०सम्म टेक्न पाएकी भए अहिले मसँग‌ै बाँचिरहेकी हुन्थि । अब कल्पनुकाे कुनै टुक छैन ।
मैले कति धेरै मानिसहरूसँग सहकार्य गरे, ती सबैकाे नाम मात्र पनि लेख्न सके हजाराै पन्ना भरिन्छ । यसरी सहकार्य सहयाेगी सहपाठी भएर काम गरेकाेमा म आफैलाई धन्य सम्झन्छु । ती सबैलाई कुनै न कुनै बेला पलभर भए पनि म सम्झन चाहान्छु र सम्झेकाे पनि छु । सब‌ैले मलाई केही न केही शिक्षा ज्ञान वा असल प्रेरणा दिएका छन् तसर्थ सबैप्रति म आभारी पनि छु ।
अब ७३ वर्षमा झ‌‌ैँ ७४ वर्षको उमेरमा पनि सहकार्य गरा‌ैँ !
सुखदु:ख जे पर्छ हाँसेर बाँचाैँ !
बाँच्नुजस्ताे सब‌ैभन्दा ठूलाे अरु केही छैन , बाँचुन्जेलकाे हाे जीवन ... तसर्थ बाँचाै! सकिन्छ भने हाँसेर नै, ह‌ै ल !
 
***
 
 २०७७ चैत २३, (७३वर्षे उमेरकाे अन्तिम दिन),धरान
 

 

 

Comments

Popular posts from this blog

(स्मृतिलेख) स्वरसम्राट नारायणगोपालप्रति शब्दश्रद्धासुमन

(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु

(लघुलेख ) आख्यान